संक्षिप्त परिचय

नेपाल एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो । भौगोलिक आकारमा सानो र भौतिक विकासमा पछाडि परे तापनि प्राकृतिक सौन्दर्य, विविध भाषा र संस्कृतिले गर्दा नेपाल देश विदेशका अन्वेशक एवं सौन्दर्यप्रेमीहरुको लागि आर्कषक र उपयोगी भूभागको रुपमा परिचीत रहेको छ । 

विकेन्द्रीकरणको अवधारणा अनुरुप नगरपालिकाहरुलाई स्वायत्त शासन अन्र्तगत राखी नगरवासीहरुलाई नगर क्षेत्रको समग्र विकास निमार्ण कार्यमा अत्याधिक मात्रमा संलग्न गराई अधिकतम सेवा तथा सुविधाहरु स्थानीय स्तरमा नै उपलब्ध गराउने उदेश्यले २०५३ सालमा घोषित बाईस नगरपालिकाहरु मध्ये मेचीनगर नगरपालिका पनि एक हो । 

पूर्वाञ्चल विकास क्षेत्रको झापा जिल्ला अन्र्तगत नेपालको सुदुरपूर्वी सिमाना मेची नदिको परिषरमा अवस्थित मेचीनगर नगरपालिकाको कुल क्षेत्रफल ५४६७ हेक्टर (५४.६७ वर्ग कि.मी.) रहेको छ । यो मेची नदीको पश्चिम किनारमा २६ डिग्री ०२ मिनेट देखि २६ डिग्री ०५ मिनेट उत्तरी अक्षांसको विच र ८९ डिग्री ३९ मिनेट पूर्व देखि ८८ डिग्री ०२ मिनेट पूर्वी देशान्तर विचमा पर्दछ । यहाँ औषत १५०० मि.लि प्रति वर्ष बर्षा हुने गर्दछ भने अधिकतम तापक्रम ३८ डिग्री सेल्सीयस र न्युनतम तापक्रम ०६ डिग्री सेल्सीयस रहने जल तथा मौषम विज्ञान विभागको रेकर्डमा पाईन्छ ।

यहाँ हिन्दु, किरांत, बुद्ध, श्रीकृष्ण प्रणामी, मुस्लिम, शैव, वैष्णव, साई, यशु तथा मानव धर्म मान्नेको वाहुल्यता पाईन्छ । नेपाल मात्र नभएर विश्वमै लोपोन्मूख किसान जाति समेत यो नगरपालिमा रहेका छन । ब्राहमण, क्षेत्री, राई, लिम्बु, धिमाल, दनुवार, मेचे, थारु, चौधरी, सुनुवार, भोटे, तामाङ, सेर्पा, नेवार, मगर, गुरुङ, भुजेल, राजबंशी, जोगी, माझी, कुमाल जातिको यहाँ बसोवास गर्दछन । यहाँ पर्यटकिय तथा धार्मिक दृष्टिकोणले परिचित पातालगंगा मन्दिर, बौद्ध गुम्वा, विश्वनाथ मन्दिर, पञ्चमुखी मन्दिर, हनुमान मन्दिर, दुर्गा मन्दिर काकरभिट्टा क्षेत्रमा र काली मन्दिर, पशुपतिनाथ मन्दिर, कृष्ण प्रणामी मन्दिर, राधास्वामी सतसंग, मस्जिद र चर्च धुलाबारी क्षेत्रमा रहेका छन ।

यसको उचाई समुन्द्र सतहबाट १०० मि. रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना बमोजिम कुल जनसंख्या ५७५४५ र बार्षिक वृद्धीदर २.१ प्रतिशत रहेको यो नगरपालिका साविक २ वटा गा.वि.स. हरु क्रमश धुलाबारी र काकरभिट्टाको संयोजनबाट निर्माण भएको हो । १३ बडामा विभाजित यो नगरपालिकाको वडा नम्बर १ र ३ मा धुलाबारी बजार, १२ मा ईटाभट्टा बजार र १० नम्बर वडामा काकरभिट्टा बजार रहेका छन । नगरपालिका भित्र वसोवास गर्ने सिमान्तकृत मेचे जातिको नामवाट नामाकरण गरिएको नेपालको पूर्वि सिमाना मेची नदि समेत यहि पर्दछ । मेची नदि कै नामबाट यो नगरपालिकाको नाम मेचीनगर नगरपालिका नामाकरण गरिएको हो ।

पूर्वमा नेपाल भारत सिमाना मेची नदी सहित देशको सबैभन्दा लामो पूर्व पश्चिम लोकमार्गको सुदूर पूर्वीखण्ड भएकोले यसलाई नेपालकै पूर्वको प्रवेशद्धार भनेर चिनिन्छ । यो नगरपालिकाको बाटो भएर छिमेकी मित्र राष्ट्र भारत र भुटानसँग नेपालको व्यपारिक गतिविधि हुदै आएको साथै मित्र राष्ट्र बंगलादेशको बाटो हुदै तेश्रो राष्ट्रसँगको व्यपारिक सम्बन्ध समेत यसै नगरपालिकाको बाटोबाट हुने गरेकोले यसको भविष्यमा व्यपारिक र पर्यटकिय दृष्टिकोणले महत्व बढने कुराको आकलन गर्न सकिन्छ । 

२०५३ मा भएको स्थानीय निकायको निर्वाचन पछि संचालनमा आएको मेचीनगर नगरपालिकामा २०५४ साल देखि २०५९  साल सम्म जननिर्वाचीत प्रतिनिधिहरुले कार्यभार संह्रालेकोमा सो पछि हालसम्म कर्मचारीबाट नगरपालिकाको कार्य संचालन भैरहेको छ ।  पहिलो नगरपरिषद २०५४ देखि चौविसौ नगरपरिषद २०७० सम्पन्न गरिसकेको यो नगरपालिकाले हाल सम्म नगरपालिका क्षेत्रको विकास   निमार्णमा महत्वपूर्ण उपलब्धी हासिल गरिसकेको छ । सीमित श्रोत र साधनबाट नगरवासीहरुले अपेक्षा गरेको विकासको प्रतिफल प्राप्त  गर्नु चुनौतिपूर्ण कार्य भएता पनि उपलब्ध श्रोत साधनको उपयोगबाट नगपालिकाले सन्तोषजनक प्रतिफल प्राप्त गरिरहेको छ ।

मेचीनगर नगरपालिकाको संक्षिप्त तथ्यांकिय जानकारीका लागि यहाँ क्लिक गर्नुहोस ।